कल्पना घिमिरे
काठमाडौँ । शिक्षा विज्ञान प्रविधि मन्त्रालयले ‘विश्वविद्यालय अनुदान आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि २०८१ जारी गरेको छ ।
उक्त कार्यविधिअनुसार आयोगको सदस्य सिफारिससम्बन्धी कार्बाही अघि बढ्ने शिक्षा विज्ञान प्रविधि मन्त्रालयका प्रेस संयोजक हरिसप्रसाद भट्टले जानकारी दिए।
सो कार्यविधि ‘विश्वविद्यालय अनुदान आयोग ऐन २०५० को दफा ५ को उपदफा १ को खण्ड ‘च‘ र खण्ड ‘छ’ बमोजिम रिक्त रहेको सदस्य पदका लागि नेपाल सरकार समक्ष सिफारिस गरी आयोगको सदस्य मानोनयन सम्बन्धी काम कारवाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन वान्छनीय भएकाले सोहि अनुसार मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ,’ उनले भने।
रिक्त रहेको आयोगको सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न मन्त्रालयले दुई जना विज्ञलाई सदस्य तोक्ने सो कार्यविधिमा उल्लेख रहेको उनको भनाई छ।
आयोगको विज्ञ पदमा नियुक्तिका लागि आवश्यक योग्यता
आयोगको विज्ञ पदमा नियुक्तिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, प्रचलित कानुन बमोजिम स्थापित कुनै विश्व विद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको हुनुपर्ने छ।
कम्तीमा सात वर्ष उच्च शैक्षिक संस्थामा प्राध्यापन गरी अनुभव हासिल गरेको, कम्तिमा दुई वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारीमा रहेको, प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको हुनुपर्ने छ ।
यस्तै आफू सार्वजनिक पदमा रहँदा कुनै विभागीय कारबाहीमा परी सजाय नपाएको, प्लेजियारिज्म सम्बन्धमा दोषी प्रमाणित नभएको आयोगसँग कुनै स्वार्थ नबाझिएको, नेपाली नागरिक पैतीस वर्ष उमेर पूरा नभएको, तत्काल कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।